नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताउनु भयो । उहाँले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाउनु भयो । उहाँले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताउनु भयो । उहाँले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताउनु भयो । उहाँले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ । हामी खेल मात्रै खेल्दैनौँ । अरु पोल्टिकल काम अरु संगठनमा पनि आवद्ध छौँ । हामी वर्ग संघर्षमा छाैँ । हामीले गर्व गर्नुपर्छ यो कुरालाई की हाम्रा बिरोधीहरु एक्लै हामीसँग कोही पनि लड्ने भिड्ने आँट नै गर्र्दैनन् । हामी मात्रै हो एक्लै लड्छौँ भन्ने । हामी लड्यौँ । तर साना साना अंक जोडेर सबै मिलेर सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर । यो खासै केही होइन, कही गर्न सक्दैन्न भन्ने चिनिसके । त्यस्तो बुख्याचा, निकम्मा सरकार छ । निकम्भामात्रै भइदिएको भए हुन्थ्यो, भ्रष्टाचार र भ्रष्टाचारको संरक्षण, तस्करी, त्यसको संरक्षण, कमिसनखोरी त्यसको संरक्षण, आयोजक र संरक्षण । यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन । उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्काएर । यतापट्टि यो लोभिपापी नभत्किनसक्छन् । एक पटक एक जनाले भनेका थिए, फलानासँग मेरो गर्धन र घाँटी जोडिएको छ । यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरुको घाँटी मात्रै होइन सिंगो शरीर जोडिएको छ । यि एकै वंशका, एकै नश्लका हुन् । यि भ्रष्टाचारी, कमिसनतन्त्रीय वंशाका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो । एकै खालका हुन् । त्यसकारण एकै ठाउँमा बस्छन् ।’
अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताउनु भयो ।