काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरेका हुन् । ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ’, ओलीको भनाइ उधृत गर्दै एक पोलिट्ब्यूरो सदस्यले भने ।
ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए । ‘जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोलेको सुनियो, त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।