काठमाडौं । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ । सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको बताउनुभयो । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न ठाउँमा लुकेर बसेका थिए ।
शिवशिखरसहित मोरङमा उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ ।
बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए । सीआईबीले बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्क गर्न बचतकर्तालाई अनुरोध गरेको छ ।