काभ्रे । काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको सामुदायिक वनमा मंगलबार दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण बाहिर पुगेको छ । नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयाे ।
सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको उहाँले बताउनुभयाे ।
बिहीबार दिउँसो ३ बजे आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक समेत बस्दैछ । बैठकले स्थलबाट निभाउन सम्भावना नभए हेलिकोप्टरमार्फत् भएपनि आगो निभाउनका लागि संघीय सरकारलाई अनुरोध गरिने जनाइएको छ ।जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले प्रहरी चौकी फलामेटार, गोकुले तथा डेबिटारको टोली स्थलमा पुगेको जानकारी दिनुभयाे।
स्थानीय प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोले जंगलमा आगो लागेपनि बस्तीमा आइनपुगेको जनाउनुभयाे ।