बागमती किनारको सुकुमबासी बस्ती हटाउन खोज्दा घरेलु हतियारसहित आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाण्डौं महानगरले प्रहरीलाई पत्राचार गरेको छ। आक्रमणमा सहभागी भएका राजु तामाङ, दीपकजंग कुँवर, हुकुम लामा र नारायण परि श्रमीलाई प्रक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न महानगरले प्रहरी परिसरलाई पत्र लेखेको हो।
गृह मन्त्रालय र काठमाण्डौं जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ दिएर काठमाण्डौं महानगरका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार काफ्लेद्वारा हस्ताक्षरित पत्रमा कारबाही गरिनुपर्ने व्यक्तिहरूको नामसमेत उल्लेख गरिएको हो। हतियारसहित आक्रमणमा उत्रिएकालाई कारबाही गर्न पत्रमा आग्रह गरिएको छ। काठमाण्डौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बुधबार पत्र प्राप्त भएको बताउनुभयाे।
उहााले भन्नुभयाे, ‘हामीले अनुसन्धान सुरु गरेका छाैँ। आवश्यक सूचना तथा प्रमाण खोजिरहेका छौं। गैरकानुनी काम गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन।’ सोमबार बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयले हतियारसहित आक्रमण गरेका थिए। आक्रमणमा महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित नगर प्रहरीहरू घाइते भएको उल्लेख छ।
बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको, अन्य घाइते भएको भन्दै कारबाही गर्न माग गरिएको छ। महानगरका मेयर बालेन शाहसमेत भएको छलफलबाट प्रहरीलाई पत्राचार गर्ने निर्णय भएको हो।
काठमाण्डौ प्रहरी परिसरका प्रमुख भरत बोहोराका अनुसार बुधबार प्राप्त पत्रमा नाम लेखिएको पात्रहरूलाई मुलुकी फौजदारी अपराध संहिताको दफा ८५, १९६ र २१२ अनुसार कारबाही गर्न माग राखिएको छ। बोहोराले भन्नुभयाे, ‘कारबाहीको लागि नाम नै तोकेर पत्र आएपछि हामीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर कारबाही अगाडि बढाउँछौं। यसका साथै आक्रमणको फोटो र भिडियो पनि हामीलाई प्राप्त छ। तत्कालै पक्राउ गरी अनुसन्धान गर्छाे।’
सुकुमवासीहरूको आक्रमण र आन्दोलनपछि केही समयका लागि बस्ती हटाउने कार्य रोकेको छ। सहायक प्रवक्ता काफ्लेले भन्नुभयाे, ‘पुनः सूचना जारी गरेका छौं। अतिक्रमण गरेका जग्गा सबैले खाली गरिदिनुहोस्। यस कार्यमा हामी निरन्तर लाग्नेछौं। प्रक्रिया पूरा गरेर सुकुमवासी बस्ती हटाउने निर्णय गरेका छौं।
राति डोजर लगाउने त्रासमा सुकुमवासी बस्तीका स्थानीय राति पनि जाग्राम बसेका छन्। आफूहरूलाई विकल्प दियर मात्रै डोजर लगाउन भन्दै आन्दोलन गरिरहेका छन्।’
source:-annapurnapost