पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित 'कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी
विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गर्नुभयाे ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताउनुभयाे ।
उहाँले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राख्नुभयाे । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएकाे थियाे ।

यस्तै पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको स्मरण गर्नुभयाे । उहाँले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताउनुभयाे । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, उहाँले भन्नुभयाे, ‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’
अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताउनुभयाे आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उहाँले भन्नुभयाे, यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला
दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’ पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ भने,रानामगर नवलपुर टाइम्सका सम्पादक हुनुहुन्छ ।
यस्तै सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मानअर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राख्नुभयाे । उहाँले पछिल्लो समय पत्रकारिताले आफ्नो बाटो बिराएको बताउदै चिन्ता व्यक्त गर्नुभयाे । उहाँले आवाजविहीनका आवाज नभई पत्रकारिताले सिंहदबार र आवाज हुनेहरुलाई मात्रै बोकेको टिप्पणी गर्नुभयाे । यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउँदै नागरिकलाई झुक्याउन नहुने बताउनुभयाे । ‘पत्रकारिता समाजको ऐना हो त्यसैले यसले जे हो त्यही देखाउनुपर्छ । झुक्याउनु हुँदैन,’ उहाँले भन्नुभयाे।
अक्षयकोषमा यस वर्षपनि थपियो राशी, पुग्यो १० लाख अक्षयकोषमा यसवर्षपनि नगद राशी थपिएको छ । फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उहाँका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएकाे हाे । ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव गुरुङले बताउनुभयाे । उहाँका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ ।
यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ । सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुबका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुबका आश गुरुङ,कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका शुन्दरकुमार थकाली पुरस्कृत भइसक्नुभएकाे छ ।
सोही कार्यक्रमको अवसरमा तत्कालिन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याएको भन्द्र वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई सम्मान अर्पण गरिएको थियो । यस्तै मिस मगर नेपाल २०२३ का विजेता विनु थापामगर, फस्र्ट रनरअप दिवा पाइजा मगर, सेकेन्ड रनरअप कविता थापामगर, थर्ड रनरअप दिक्षा थापामगर र म्यूअर्स च्वाइस उमा पुनमगरलाई सम्मान अर्पण गरिएको थियो ।
सो कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गण्डकीका महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।