काठमाडौं । चक्रपथको दोश्रो खण्डका रूपमा कलंकीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।
चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन ।
अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खोजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताउनुभयो । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उनले जानकारी दिनुभयो।
चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकी सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या ब्यहोर्नुपरेको विभागले जनाएको छ ।