काठमाडौं । जुम्लामा एक घरमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।
आइतबार राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ । प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकाे प्रहरीले जनाएकाे छ ।
घरको दोस्रो तलाबाट आगलागी भएको ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ । घटनामा लोकबहादुर भण्डारी पनि सामान्य घाइते हुनुभएकाे छ । उहाँको खुट्टाको केही भागमा जलेको छ ।