मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस (२१ डिसेम्बर)देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उहाँले बताउनुभयाे । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।
यसअघि जजिराले २ फेब्रुअरीदेखि उडान सुरु गर्ने आश्वासन दिएको थियो । तर उडान सुरु भएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले कुनै बेला जहाजले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ । तर भारतीय आकाश प्रयोग गर्न भारत सरकारसँग सम्झौता हुनुपर्छ । उक्त सम्झौता नहुँदा विमानस्थलको प्रयोगमा एयरलायइन्सहरु आकर्षित हुन सकेका छैनन् । अर्कोतर्फ भैरहवा उडानका लागि नेपालको पश्चिम भेगबाट आउने जहाजले नेपाल छिर्न पूर्वी नेपालको सिमरा बिन्दुमा पुगेर पुनः भैरहवा फर्कनुपर्छ । यसले समेत यो विमानस्थलको उडान तुलनात्मक रुपमा महँगो पर्न जान्छ । भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिएको छैन ।