जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बर गरिएको छ । शुक्रबार सीता र रामको डोला फेर गरेर स्वयम्बर गरिएको हो । अब राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ । जनकपुरमा स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ ।
जनकपुरमा साताव्यापी विवाह पञ्चमी चलिरहेको छ । आज बिहानैदेखि सार्वजनिक सवारीसाधनले पनि विवाह महोत्सवमा सहभागी हुनेलाई ओसारिरहेका छन् । महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबासलगायत क्षेत्रबाट जनकपुर जाने बसमा यात्रु कोचिएर यात्रा गरिरहेका छन् ।
यात्रुको चापलाई मध्यनजर गरी ग्रामीण क्षेत्रमा सार्वजनिक सवारीसाधन थप गरिए पनि अपूग भएको बलवा बजारका शिवनारायण झाले बताउनुभयाे । यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोेध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।
तस्वीरहरू :- शैलेन्द्र महतो जनकपुरधाम