काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य प्रस्तुत गर्दै एनपीएलको क्वालिफायर वान रोमाञ्चक बनाएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रनको योगफल तयार गर्यो।
टीमका लागि जिमी नीशमले उत्कृष्ट प्रदर्शन गर्दै २३ बलमा ३ चौका र ३ छक्काको सहायताले सर्वाधिक ४५ रन बनाए। शुभ कंसाकारले २४ बलमा २६ रनको योगदान गरे पनि अन्य ब्याटरहरूले खास प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। त्यस्तै, सैफ अली जैबले २ विकेट हात पारे भने स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए।
यस खेलको विजेता टोली एनपीएलको फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग भिड्नुपर्नेछ। कर्णाली याक्सले आजै चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ।
फाइनलको प्रतिस्पर्धाको प्रतीक्षा गर्दै दुबै टोली उत्कृष्ट प्रदर्शनको लक्ष्यमा छन्।