इजरायलको दक्षिणी शहर बेरशेबामा भएको आतंकवादी आक्रमणमा एक महिलाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । बुलेटप्रुफ भेस्ट लगाएका आक्रमणकारीले बेरशेबाको केन्द्रिय बस स्टेशनमा गोली चलाएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले आक्रमणकारीलाई घटनास्थलमा पुग्न मद्दत गर्ने सहयोगीहरूको खोजी शुरु गरेका छन् ।
इजरायलको राष्ट्रिय आपतकालीन पूर्व–अस्पताल चिकित्सा र रक्त सेवा संगठन, म्यागेन डेभिड एडोमका प्रवक्ता जाकी हेलरले गोली लागेर २० वर्षीया महिलाको मृत्यु भएको बताउनु भयो । आक्रमणकारीलाई इजरायली सुरक्षा बलले गोली हानेको थियो र पछि घटनास्थलमै मृत घोषित गरेको थियो । यसैबीच इजरायलको सरकारी स्वामित्वको कान टिभीले आक्रमणकारी नेगेभ मरुभूमिमा रहेको बेदुइन गाउँ हुराका बासिन्दा भएको बताएको छ ।