ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकि कामलाई निष्कर्षमा पुर्याउने कामलाई मुख्य प्राथमिकता दिएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारको पहिलो प्राथमिकता र प्रतिवद्धता शान्ति प्रक्रियाको बाँकि कामलाई निष्कर्षमा पुर्याउनु रहेको बताउनुभएको हो । मन्त्री बस्नेतले मुलुकमा पीडित भइराखेकाले सो प्रक्रियालाई टुंगोमा पुर्याउने काममा ढिलाई गर्न नहुने पनि बताउनु भयो । उहाँले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकि बाम टुंग्याउने कुरामा अब पनि धेरै समय बित्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुंग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘अहिले शान्ति प्रक्रियालाई टुंग्याउने विषय सरकारको प्राथमिकताको विषय हो । यो प्रमुख प्राथमिकता मध्येको एक हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, शान्ति प्रक्रियाका बाँकि काम जे छन, त्यसलाई निष्कर्षमा पुर्याउने सरकारको प्राथमिकता र प्रतिवद्धता रहँदै आएको छ । यसलाई जतिसक्दो छिटो टुंग्याउनु पर्छ । यसले मुलुक भिक्टिम भइराखेको छ । त्यसैले यसलाई टुंग्याउनेतिर जाऊ । ’
मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्ण रुपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकि कामलाई पूर्णता दिने कामलाई तिब्रता दिनुपर्ने बताउनु भयो ।