ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताउनुभएको हो । छलफलका क्रममा केही सांसदहरुले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उहाँले तीन महिनापछि लोडसेडिङ नहुने स्पष्ट पार्नुभयो । उहाँले वर्षा याममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै उहाँले भ्रमको पछि दौडिनु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘लाभ छ । नोक्शान छैन । गठबन्धन बाहिर सहकार्य गर्न कुनै बन्देज पनि छैन । आर्थिक दायित्व सिर्जना भएको छैन । लाभ लिन सकिने प्रशस्त ठाउँहरु छन् । हामीले चिन्ता गर्नुपर्ने स्थिति देखिँदैन । सौर्य वित्तको मात्र कुरा होइन, सौर्य प्रविधि, नवप्रवर्तन, क्षमता विकासको विषय पनि लाभका क्षेत्र हुन् । तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चाको बारेमा यो सत्यता होइन । एउटा कुरा के प्रष्ट छ त भन्दा वर्षायाममा त हामी बिक्री गर्छौं । त्यसकारणले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा आफैँमा सही होइन । त्यो भ्रमको पछि दौडिनु हुँदैन ।’
उहाँले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) मा सहभागि हुँदा प्रशस्त लाभ लिन सकिने बताउनु भयो । उहाँले यो गठबन्धनमा आवद्ध भएबापत कुनै आर्थिक दायित्व समेत सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनु भयो । उहाँले यो गठबन्धनमा आवद्ध हुँदा गठबन्धन बाहिर सहकार्य गर्नका लागि पनि कुनै बन्देज नभएको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल
Visa of america