काठमाडौं। कर्णाली प्रदेशका दुर्गम जिल्लामा अझै पनि आयोडिनयुक्त नुन पुर्याउन कठिनाइ भइरहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको भए पनि उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रमा भने नुन पुर्याउन सकेको छैन।
सरकारको ढुवानी भाडामा अनुदानका कारण आयोडिनयुक्त नुन कर्णालीका जिल्लामा सहुलियत दरमा बिक्री भइरहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नेपालगञ्जस्थित प्रदेश कार्यालयका प्रमुख मनोज चौधरीका अनुसार, चीन सरकारको अनुमति नपाउँदा उपल्लो डोल्पामा नुन पुर्याउने काम अवरुद्ध छ।
चौधरीका अनुसार, हुम्ला, मुगु, र डोल्पाका अधिकांश स्थानमा यो वर्ष नुन ढुवानीको समस्या समाधान भएको छ। कर्णाली र लुम्बिनीका जिल्लाहरूमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ।
डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच क्विन्टल कोटामध्ये हालसम्म एक हजार एक सय क्विन्टल नुन ढुवानी भइसकेको छ। जुफाल डिपोमा पाँच सय कोटामध्ये तीन सय क्विन्टल नुन पुगेको छ भने काइगाउँमा तीन सय कोटामध्ये नुन अझै पुर्याउन बाँकी छ।
ढुवानीमा अनुदानका कारण आयोडिनयुक्त नुनको मूल्य प्रति किलो ९ रुपैयाँ मात्र तोकिएको छ। साल्ट ट्रेडिङले बाँकी नुन पनि छिटो पुर्याउने प्रयास भइरहेको जानकारी दिएको छ। कर्णालीका दुर्गम क्षेत्रमा अझै पनि भौगोलिक चुनौतीका कारण आधारभूत सामग्री ढुवानीमा समस्या हुँदै आएको छ।