काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स युएइ को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४ औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गर्र्नुभएको छ।
त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतंकवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।