इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा लाभा बाढीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । अन्य १७ जना बेपत्ता भएको स्थानीय प्रकोप निकायका एक वरिष्ठ अधिकारीले बताउनुभएको छ । पश्चिम सुमात्रा प्रान्तको विपद् व्यवस्थापन र न्युनिकरण एजेन्सीको आपतकालीन इकाईका प्रमुख फजर सुकमाले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य पुनः शुरु भएको बताउनु भयो । खोज तथा उद्धार कार्यमा सैनिक, प्रहरी, विपद् व्यवस्थापन निकायका कर्मचारी र खोज तथा उद्धार कार्यालयको संलग्नता रहेको उहाँले बताउनु भयो । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका बरिष्ठ प्रेस अधिकृत मुहरिन्दो इडवानले बाढीको जानकारीलाई थप वैधानिक बनाउन तनह दातार क्षेत्रमा सूचना केन्द्र स्थापना गरिएको बताउनु भयो । शनिवार राति परेको पानीले मरापी ज्वालामुखी र सिङ्गलाङ ज्वालामुखीबाट निस्केको चिसो लाभा बगाएर तनह दातार, आगम र परियामान र पडाङ पञ्जाङ शहरमा चिसो लाभाको बाढी आएको थियो ।
सिन्ह्वा