काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुग्नुभएकाे छ । शुक्रबार दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट विताउनुभएकाे उहाँले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट जारी अनुसन्धान, खोज/उद्धार कार्यबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
घटनास्थलमा पुगेर उहाँले सञ्चारकर्मीहरुसँग बोल्नुभएन । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उहाँसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरु पनि त्यहाँ पुग्नुभएकाे थियाे ।
अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै बिहीबार एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।
विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल हुनुभएकाे थियाे । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीवित रहनुभएका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेश हुनुहुन्छ । उहाँको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।
भारतमा आफन्त भेट्न आउनुभएका विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै हुनुहुन्थ्याे। हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभएकाे छ, ‘टेकअफ गरेको ३० सेकेण्डमै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । सबै कुरा एकैचोटी भयो ।’
विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु सार्वजनिक भएका छन् । भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।
onlinekhabar