स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गर्नुभयो । उहाँले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बालेनलाई म चुनौती दिन चाहान्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाउ, सिंहदरबार भत्काएर देखाउ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाउ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शितल निवास भत्काएर देखाउ । यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन । म संघीय सरकारलाई आग्रह गर्न चाहन्छु यो देश बहुभाषिक हो बहुधार्मिक हो । यहाँ हरेक तप्काको एक ठाउँबाट अर्को ठाउँमा जाने, बोल्ने र बस्ने स्वतन्त्रता संविधानले दिएको छ । यो त लथालिङ्ग देशको भताभङ्ग चाला, जहाँ जसले सके त्यहीले खाला भयो । यो न्याय मरेको देश हो ? के कानून नभएको देश हो ? त्यो मेयर किन तानाशाह भएर निस्किएको छ ?’ उहाँले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिनुभयो ।
—न्युज एजेन्सी नेपाल