रुपन्देही । रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
गत वर्षसम्म यो समयमा जम्मा ४२ प्रतिशत जमिनमा धान रोपाइँ भएकामा अहिले ५७ प्रतिशत भएको उक्त केन्द्रका सूचना अधिकारी अनिल बानियाँले बताउनुभयो । गतवर्षभन्दा अहिले असार १५ मै पानी परेका कारण रोपाइँ तुलनात्मकरूपमा धेरै भएको उनको भनाइ थियो ।
जिल्लाभार सिँचाइ सुविधा ७० प्रतिशत जमिनमा पुगेको देखिए पनि यहाँको पुराना सिँचाइ आयोजना र कुला मर्मत नहुँदा कागजमा मात्र सीमित देखिन्छ ।
तोकिएजति सिँचाई नहुनुमा भौलाभुजा सिँचाइ आयोजना, छत्तिस कुलोलगायत धेरै पुराना सिँचाइ आयोजना र कुलो मर्मत नहुँदा क्षमताअनुसारको सिँचाइ पुर्याउन समस्या भएको हो ।