काठमाडौं । खाना पकाउने ग्यास चुहिएर भएको आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
उहाँलाई आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।
यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिनुभयो ।
डा. भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकोमा आज बिहानदेखि छ लिटरमा झारिएको छ ।
गएको बुधवार राति काठमाण्डौको घरमा ग्यास लिक भएर आगलागीमा परि डा. भण्डारी घाइते हुनुभएको थियो । उहाँँको आमाको भने कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।