काठमाडौं । ओपनरद्वय दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरेपछि यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले मलेसियामाथि १० विकेटको शानदार जित निकालेको छ।
यूएईमा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यूएईको मलेक क्रिकेट मैदान अज्मानमा मंगलबार टस हारेपछि फिल्डिङमा आएको नेपालबाट दीपेशले चार विकेट लिएपछि मलेसिया ७२ रनमै समेटिएको थियो। ७३ रनको लक्ष्य नेपालले नौ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो।
नेपालको जितमा दीपक २९ बलमा आठ चौकासहित ३८ रनमा अविजित रहे। अर्का ओपनर अर्जुन कुमालले २५ बलमा तीन चौकासहित २१ रनमा अविजित रहे।
त्यसअघि मलेसियाका मुहम्मद अक्रम एबीडी मलेकले २६ र ओपनर मोहम्मद हैरिल हरिसनले १२ रन बनाउँनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।
मलेसियालाई सस्तैमा समेट्न दीपेशले चार विकेट लिए। १० ओभर बलिङ गरेका दीपेशले चार मेडन राख्दै ११ रनमात्र खर्चिए। आफ्नो स्पेलको कुल ६० बलमध्ये दीपेशले ५३ डट बल फ्याकेका थिए। मिलन बोहराले दुई विकेट लिँदा सुवास भन्डारी र आकाश चन्दले समान एक विकेट लिए।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले दोस्रो खेलमा कुवेतलाई २४३ रनले र तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको थियो।
चार खेलबाट आठ अंक जोडेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलबाट ६ अंक जोडेको यूएई दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको मलेसियाको चार खेलबाट दुई अंक छ। चौथो स्थानको सिंगापुरको पनि दुई अंक नै छ। पाँचौँ स्थानको हङकङले दुई अंक जोड्दा पुछारको कुवेत भने हालसम्म अंकविहिन छ।
छनोटमा नेपालसँगै, घरेलु टिम यूएई, हङकङ, मलेसिया, सिंगापुर र कुवेत सहभागी छन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।
annapurnapost