काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।
नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।
पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।
onlinekhabar