काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजी लाई ५२ रनले हराएको छ ।
नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयो । पीएनजीका लागि नोरमान भानुवाले ६०, टोनी उराले ५०, आसाद भालाले ४२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाए । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए । बलिङतर्फ पीएनजीका सेमो कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए ।
यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २र२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाको अर्को खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ ।