काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन र प्रवर्धन गर्न आफू लाग्ने बताउनुभएको छ ।
शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले देशलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताउनुभयो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पनि आफ्नो तर्फबाट प्रयास हुने उहाँको भनाइ छ ।
यादवले भन्नुभयो, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्धन गर्नमा मेरो इमानदारिताका साथ भूमिका रहनेछ । देश समृद्धरूपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ ।’
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने नागरिक र सांसहरूप्रति धन्यवाद दिनुभयो ।