यमनको हुथी समूहले सोमवार उत्तरी यमनी प्रान्त सादामा अमेरिकी एमक्यू–९ रिपर ड्रोन खसालेको बताएको छ । ड्रोनलाई सादाको पूर्वी भागमा खसालिएको समूहले दाबी गरेको छ ।
हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले ड्रोनको भग्नावशेषको दस्तावेजीकरण गरेको बताएको छ । अमेरिकी सेनाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
गत वर्ष नोभेम्बरदेखि हुथी र अमेरिकी सेनाले एक अर्कालाई आक्रमण गर्दै आएका छन् । गाजा पट्टीमा प्यालेस्टाइनीहरूसँग ऐक्यवद्धता जनाउन हुथीहरूले लाल सागर र अडेनको खाडीमा इजरायली–सम्बन्धित कार्गो जहाजहरूमा एन्टी–शिप मिसाइलहरू र ड्रोन आक्रमण गर्न थालेका थिए ।
जनवरीदेखि यस क्षेत्रमा तैनाथ अमेरिकी–ब्रिटिस नौसैनिक गठबन्धनले समूहलाई रोक्नको लागि हुथी लक्ष्यहरू विरुद्ध नियमित हवाई आक्रमण र मिसाइल हमलाहरू गरेको छ ।