सप्तरीको हिरासतमा रहेकी महिलामाथि गरिएको भनिएको बलात्कार घटनाको छानबिनलाई गम्भिरतापूर्वक अघि बढाउन मानव अधिकारवादी संघ, संस्थाहरुले दबाब दिएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालकी संस्थापक डा. रेणु अधिकारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्याल लगायतले सो घटनाबारे तथ्य बाहिर आउने गरी छानबिनलाई गम्भिरतापूर्वक अघि बढाउन नेपाल सरकार र नेपाल प्रहरीलाई दबाब दिएका हुन् । २०७९ साल चैत्र ६ गते सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेकी ३५ वर्षीया एक महिलामाथि सोही कार्यालयका प्रमुख डिएसपी दीपककुमार रायले बलात्कार गरेको आरोप लागेको थियो । पीडित पक्षले आरोप लगाएकाले त्यसमा संवेदनशील भएर नेपाल सरकार र नेपाल प्रहरीले छानबिनको कामलाई गम्भिरतापूर्वक अघि बढाउनुपर्ने ओरेक, नेपालकी अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँले सो घटनाको जानकारी लिन गएका स्थानीय अधिकारकर्मीहरुमाथि पनि प्रहरीले कुटपिट गरेको भन्दै त्यसलाई हलुका रुपमा लिन नहुने बताउनु भयो । अध्यक्ष अधिकारीले सो घटनाको तथ्य बाहिर ल्याउन सबै अधिकारकर्मीहरुलाई एकतावद्ध भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी मानव अधिकार आन्दोलन अलि कमजोर भएको कारणले पो प्रहरीहरुको आँट बढेको हो कि जस्तो पनि लाग्यो । त्यसैले हामी अगाडि आयौँ । नभए हेर्नुस्त । मानव अधिकारकर्मीमाथि पनि राजविराजकै कस्टडीमा कुटपिट भएको छ । इन्फरमेशन लिन जाँदा उहाँमाथि कुटपिट भएको छ । यस्तो खालको घटनाहरु भएका छन् । यस्ता घटनाहरुमा प्रवेश गर्न, बोल्न र साँच्चीकै यो महिलालाई न्याय दिलाउन हामीले अलिकति पहल गर्नुपर्छ । एकीकृत हुनुपर्छ । यहाँहरुको सहयोगको पनि अपेक्षा गरेका छौं ।’
इन्सेकका अध्यक्ष अर्यालले पनि पीडित महिलाले न्यायको माग गर्ने आँट गरेकाले त्यसको तथ्य बाहिर आउने गरी छानबिनको कामलाई गम्भिरतापूर्वक अघि बढाउन सरकार र नेपाल प्रहरीसँग माग गर्नुभयो । उहाँले सो छानबिनलाई सही ढंगले अघि बढाउने गरी वातावरण निर्माण गर्न मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नुभयो ।
अध्यक्ष अर्यालले भन्नुभयो, ‘तपाईहरुमाथि गम्भिर आरोप लागेको छ । यसमा एउटा कुरा के हो भने एउटा एकदमै कमजोर महिला, एउटा बन्दी अवस्थामा रहेकी महिलाले पनि आँट गरेर यति कुरा उठेको छ भने कमजोर मानिसहरुले न्यायको माग गर्दाखेरी हामीहरुको एउटा सिम्पेथी पनि हुनुपर्छ । नभएदेखि त्यो सामान्यतः कमजोर मान्छेहरु, पावरभन्दा तल भएका मान्छेहरु यसरी न्यायको कुरा उठाउनै सक्दैनन् । भोली छानबिनको क्रममा के निस्केला, त्यो बेग्लै कुरा हो । तर छानबिनको क्रममा नेपाल प्रहरी जस्तो संस्थालाई उहाँहरुले यसलाई असाध्य गम्भिर रुपले यसको छानबिन गर्नुपर्छ । सरकारले पनि आफ्नो तहबाट गर्नुपर्छ । र, त्यसको निम्ति वातावरण बनाउन हामी मानव अधिकारवादी संस्थाहरु र मिडियाले अघि बढ्नुपर्छ भन्ने नै हो ।’
इन्सेक र ओरेक, नेपालले डिएसपी रायले पद र शक्तिको दुरुपयोग गरी सो घटनाका पीडितलाई न्याय नदिने हर्कत गर्नसक्ने निष्कर्ष निकाल्दै पीडितलाई न्याय दिन सरोकारवाला निकायहरु गम्भिर बन्न आग्रह गर्दै आएका छन् ।