काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
उता, राती भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।