काठमाडौं । नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् । उनीहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा गएको आइतवारदेखि नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो।