प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल गरेर टुंग्याइने भएको छ ।
बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रश्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा परेको कसरी समय व्यवस्थापन गरेर टुंग्याउने भन्नेबारेमा छलफल गरिएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँकाअनुसार बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र अध्यादेश बिहीवारकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको छ । उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने कार्यतालिका निर्धारण गरिएको बताउनु भयो । उहाँले बिहीवारकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विहिबार को बैठक अध्यादेशमा अस्वीकारका प्रश्ताव आएको छ । अध्यादेश बिहिबार पारित हुनेगरीको प्रक्रिया अघि बढ्छ । विहिबार अध्यादेश पारित हुन्छ । प्रमुख प्रतिपक्ष दलका नेताले बोल्नुहुने भएको छ । सरकारको तर्फबाट स्वास्थ्यमन्त्रीले बोल्ने भन्नेकुरा छ । भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलि संसदमा पेश गर्दछौँ । सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि पेश हुन्छ । आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन छ, त्यो पनि भोलि पेश हुन्छ ।’
सभामुख घिमिरेसँगको बैठकमा संसदको क्यालेण्डरबारे छलफल भएको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम तय भएको र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने बताउनु भयो । उहाँले अध्यादेशको विपक्षमा परेको प्रश्तावमा संसदमा एकजनाले प्रश्तावका रुपमा लैजाने र प्रश्तावकले प्रश्तुत गरेको प्रश्तावउपर समर्थकहरुले बोलेर विषय टुंग्याइने बताउनु भयो । अध्यादेशको प्रश्तावउपरको छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रश्तावकले फिर्ता लिनसक्ने गरी कार्यतालिका बनाइएको बताउनु भयो । प्रश्ताव फिर्ता लिन नचाहेको खण्डमा प्रश्तावलाई निर्णयार्थ एक पटक मात्रै प्रश्तुत गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बुधबारको मुख्यतया हाम्रो क्यालेण्डरको विषयमा र भोलि बस्ने संसद बैठकको कार्यतालिकामाथि नै छलफल थियो । प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम छ, स्वास्थ्यमन्त्रीले बोल्ने कार्यक्रम छ । अध्यादेशका बारेमा धेरै नै अस्वीकारका सूचनाहरु प्राप्त भएका छन्, ५१ वटा सूचना प्राप्त भएका छन् । त्यसलाई कसरी छलफलमा लैजाने भन्नेमा छलफल केन्द्रित भएको थियो । एउटा अध्यादेशमाथि एक जना प्रश्तावक हुने र छलफलमा सबै बिरोधको सूचना दिनेले बोल्ने, पछि मन्त्रीले जवाफ दिने र जसले त्यसको नेतृत्व गरेको छ, त्यो प्रश्तावकले फिर्ता लिने वा नलिने निर्णय गरिसकेपछि एउटा प्रश्तावलाई निर्णयार्थ एक पटक प्रश्तुत गर्ने ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको अध्यादेशमाथि अस्वीकारको प्रश्तावउपर छलफल गरेर कसरी टुंगो लगाउने भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर आफ्ना कुराहरु राख्ने र त्यसलाई निर्णयार्थ प्रश्तुत गर्ने सहमति बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले ल्याएको ६ वटा अध्यादेश र त्यो अध्यादेशमाथि निकै नै अस्वीकारको प्रश्ताव स्वीकार गरियोस् भन्ने प्रश्ताव गरियोस् भनेर त्यसलाई कसरी भोलि व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले लामो छलफल गरेका छौँ । प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर त्यसमा आफ्ना कुराहरु राख्ने र त्यसलाई निर्णयार्थ प्रश्तुत गर्ने भन्ने विषय टुंग्याइएको छ । भोलि प्रमुख प्रतिपक्ष दलको नेताले बोल्ने भन्ने कुरा छ । शुन्य समय, विशेष समय पनि केही गर्ने र प्रमुख प्रतिपक्ष दलको नेताले बोलिसकेपछि अध्यादेशमाथि परेका ५१ जनाले विभिन्न ६ वटा अध्यादेशमा अस्वीकार गरियोस् भन्ने प्रश्तावमा छलफल हुन्छ र भोलि नै निर्णयार्थ प्रश्तुत हुन्छ । संसदलाई अभm गतिशिल प्रभावकारी बनाउनेबारेमा छलफल भयो ।’
बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल हुने कार्यतालिका रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल