काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका डीआईजी डा मनोज केसीको दुई महिनामै गरिएको सरुवाको निर्णयको बचाउ गरेका छन् ।
बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले केसीको सरुवाको निर्णयको बचाउ गरेका हुन् ।
सांसदहरूले विशेष ब्यूरोमा आएको दुई महिना नपुग्दै नक्कली शरणार्थसहितका भीआईपीहरू संलग्न प्रकरणहरूको सफल अनुसन्धान गरेका केसीको सरुवाबारे गृहमन्त्री लेखकलाई घेरेका थिए ।
केसीले विशेष ब्यूरो सम्हालेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका पुत्र प्रतीकलाई पक्राउ गरेका थिए ।
त्यसैगरी उक्त प्रकरणमा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेस नेतृ डा। आरजु देउवालाईसमेत पोलेका बेचन झालाई पनि उनी नेतृत्वको विशेष ब्यूरोले पक्राउ गरेको थियो ।
विशेष ब्यूरोमा आएको दुई महिना नपुग्दै गत १२ साउनमा केसीको गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेपछि कांग्रेस-एमाले नेतृत्वको गठबन्ध सरकारको चर्को आलोचना भइरहेको छ ।
केसीलाई प्रतिष्ठान पठाएपछि विशेष ब्यूरोमा अहिले डीआईजी राजन अधिकारी आएका छन् । यही प्रसंगमा बिहीबार सांसदहरूले प्रश्न गरेपछि गृहमन्त्री लेखकले प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको भन्दै आफ्नो कदमको बचाउ गरे ।