महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताउनुभएकाे छ । बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले संविधान संशोधनको मुद्दाले कसैले पनि झस्किनु नपर्ने बताउनुभयाे ।
''संविधान संशोधनको मुद्दा हामीले ल्याएका हौं। अहिलेको संविधानले व्यवस्था गरेको हो,कसैले झस्किनु पदैन, ''उहाँले भन्नुभयाे,''संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन र जनताका लागि थप उपयोगी बनाउन संविधान संशोधन गर्नु परेको हो ।''
उहाँले संविधान संशोधनको विषयलाई राजनीतिक शंकाको घेरामा राख्ने अपव्याख्या गर्ने र यसैलाई राजनीति गर्ने उद्देश्य कसैले नराख्न आग्रह गर्नुभयाे । त्यसैगरी उहाँले संसदमा भएका दुई ठूला दलहरू बीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताउनुभयाे । ''दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ , ''उहाँले भन्नुभयाे,''कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायो। सशस्त्र द्वन्द्वलाई शान्तिमा ल्यायो।''
गृहमन्त्री लेखकले मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठूला दलहरू मिलेर देशको विशिष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताउनुभयाे । उहाँले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गर्नुभयाे ।