स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला’ जारी छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालन भएकाे मेलामा विहिबार पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै २ खेल सम्पन्न भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार आज (बिहीबार) भएको पहिलो खेलमा लामागाउँले कौढुंगालाई २–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले लामागाउँले जित हात पार्याे ।
यसैगरी दोस्रो खेलमा ओरस्टेले काल्खु पोखरा सम्पर्क मञ्चलाई २–० को सोझो सेटमा हरायो । ओरस्टेले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२३ ले जित निकाल्दै ओरस्टे अघिल्लो चरणमा प्रवेश गर्याे । बाँकी खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको क्लबका अध्यक्ष रानामगरले बताए । उनका अनुसार भोलि (शुक्रबार) पनि पहिलो चरणकै खेल हुनेछ ।
भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसअघि मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी प्रतियोगिता, कुर्ची दौड तथा खुला नृत्य प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, विभिन्न ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए ।