पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा शुक्रबार १३ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले रेफी सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएकाे हाे ।
सविन मेमोरियल क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालोदय माविले मदरल्याण्ड माविलाई १–० ले गोलले हरायो । त्यसै गरी दोस्रो खेलमा लिटिल स्टेपले स्टेपबाइस्टेपलाई २–० गोलले, स्पाइरल ग्यालरीले मर्निङस्टार स्कुललाई ट्राइबेकरमा हराएको छ । निर्धारीत २० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
शुक्रबार नै भएको चौथो खेलमा सगरमाथाले न्यु मोडललाई ४–१ ले, केफले न्यु ग्यालेक्सिलाई ३–२ ले शिशुनीकेतनले मदरल्याण्ड ए लाई ३–० ले, माउण्ट अन्नपुर्णले हिल प्वाइटलाई ४–१, जेसिएले पोखरा मल्टिमोडललाई ४–१ ले हराउदै अर्को चरणमा प्रबेश गरेका छन् ।
२९ टिमले सहभागी प्रतियोगितामा ९ औं खेलमा डाइमण्ड स्कुलले न्युलाइटलाई २–१ ले, सृजनास्कुलले बालकल्याणलाई ४–१ ले, नेपाल आर्दश आवासियले रेम्बो एकेडेमीलाई ४–३ ले, ग्लोबल कलेजियटले पोखरा आर्दशलाई ७–३, कास्की मोडनाइजले सोसल पब्लिकलाई ५–० हरायो ।
प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिनुभयाे । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उहाँले बताउनुभयाे । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान कास्कीका निर्वतमान अध्यक्ष डा रामजी शर्मा, सचिब ढाकाराम कँडेल लगाएतले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताउनुभयाे ।