‘हरिबहादुर बुढामगर फाउण्डेसन’ ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।
कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेसनले सहयोग स्वरुप यस वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरेको हो । ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमबीच फाउण्डेसनले शनिवार मृतकका परिवारका सदस्यलाई जनही १÷१ लाख रुपैयाँ सहयोग गरेको हो । फाउण्डेसनका संस्थापक एवं अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयोग हस्तान्तरण गर्नुभयो । बुढामगर आफैँ कीर्तिमानी सगरमाथा आरोही हुनुहुन्छ । बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । सहयोग हस्तान्तरण गर्दै बुढामगरले कुनैपनि व्यक्तिका लागि सगरमाथाको शिखरमा पुग्नुमा पथप्रदर्शक (सेर्पा) हरुको मुख्य भुमिका हुने बताउनु भयो । बुढामगरले सगरमाथा आरोहण गर्नेहरूको सहयोगि बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग उपलब्ध गराउने बताउनु भयो ।
सहयोग हस्तान्तरण गर्दै बुढामगरले भने, “कुनै पनि व्यक्तिका लागि सगरमाथाको शिखर चुम्नुहरूको साथमा जानेहरू खासगरी सेर्पाहरूको ठुलो भुमिका हुन्छ । सगरमाथाको सफल आरोहण गरेपछि हामीले उनीहरूलाई बिर्सन्छौँ तर म यो गर्न चाहन्न । हामीले आफ्नो धरातल बिर्सन हुँदैन । मेरो विश्वास छ सगरमाथा आरोहणमा सहयोगि बनेर जाने सबै दाजुभाई सफल भएर फर्कनुहुनेछ, तर कुनै दुर्घटना भएको अवस्थामा उहाँहरूको परिवारलाई फाउण्डेसनले सहयोग गर्नेछ ।”
अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरसमेत रहनुभएका बुढामगरले समरमाथा आरोहणपश्चात सम्मान पाइरहनुभएको छ । बुढामगरले आफू कुनै चर्चाको लागि भन्दा पनि अपाङ्ग सचेतनाका लागि सगरमाथा आरोहण गरेको बताउनु भयो ।