काठमाडौं गुर्खाजको प्रशिक्षक वसन्त शाहीले सुदूरपश्चिमको लक्ष्य चेज गर्ने अनुमान गरिए पनि पिचलाई बुझ्न गल्ती भएको बताउनुभएको छ ।
सुदूरपश्चिमसँग फराकिलो हारपछि काठमाडौंका प्रशिक्षक शाहीले अघिल्लो दिन दोस्रो इनिङ पिचमा राम्रोसँग बाउन्स भएकाले आज पनि राम्रो हुने अनुमान गरेको बताउनु भयो । तर पिच आफूले अनुमान गरेजस्तो नभएको उहाँले उल्लेख गर्नुभयो । प्रशिक्षक शाहीले बलिङमा आफूले कमब्याक गर्दा आफ्नो ब्याटिङमा पनि सहज नहुने होकी भन्ने लागेको बताउनु भयो । जितनजिक पुगेर हार्नुभन्दा राम्रो ब्याटिङ गर्दै जाने लक्ष्य भएकाले १२ रनमा नै ६ विकेट पतन भएको उहाँको भनाइ छ । उहाँले दुई खेल हारेकाले आगामी खेलमा केही चुनौति हुने उल्लेख गर्नुभयो । तथापि, बाँकी खेलमा सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको प्रशिक्षक शाहीको भनाइ छ ।
सुदूरपश्चिम रोयल्सका लागि पाँच विकेट लिएका नरेन साउदले प्रशिक्षक जगत टमटा र कप्तान दीपेन्द्रसिंह ऐरीले लाइन एण्ड लेन्थमा बलिङ फाले खेल जिताउँछौ भनेर प्रेरणा दिएको उल्लेख गर्नुभयो । प्रशिक्षक र कप्तानको भरोसाअनुरूप विकेट पनि प्राप्त भएको र त्यसका लागि उनले धन्यवाद पनि दिनुभयो । उहाँले यु–१९ एशिया कपबाट फर्किएको दिन नै पहिलो खेलमा जिताएर म्यान अफ दी म्याच पाउनेछु भन्ने विश्वास रहेको बताउनु भयो । नरेनले यु–१९ एशिया कपबाट खेलेर आउँदा एनपिएलमा मद्दत पनि मिलेको उल्लेख गर्नुभयो । इरासमसको छक्कापछि उनको नै विकेट लिँदा धेरै नै खुसी मिलेको उनको अनुभुति छ ।
—न्युज एजेन्सी नेपाल