ग्रीस । मध्य ग्रीसमा मङ्गलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको बीबीसी समाचारमा उल्लेख छ ।
अग्नि नियन्त्रक सेवाका प्रवक्ता भासिलियोस वाथ्राकोगियानिसले पत्रकार सम्मेलनमा विशेष युनिटसहित १५० भन्दा बढी अग्नि नियन्त्रकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्यमा जुटेका जनाएका थिए।
टेम्पी नगरपालिकामा मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको उक्त यात्रुवाहक रेलको पहिलो तीन भागमा उद्धारको प्रयास केन्द्रित गरिएको थियो। ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।
हेलेनिक ट्रेन रेल अपरेटरलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता ईआरटीले जनाएअनुसार उक्त यात्रुवाहक रेलमा ३ सय ४६ जना यात्रु सवार थिए ।
मानवीय त्रुटिले दुर्घटना
कम्तिमा ४३ जनाको ज्यान गएको उक्त दुर्घटना ग्रीसको सबैभन्दा नराम्रो रेल दुर्घटना भएको बताउँदै प्रधानमन्त्रीले सो मानवीय त्रुटिको कारण भएको जनाउनुभयाे। प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मंगलबार राति यात्रु सेवा र मालवाहक रेलबीच भएको ठक्करको घटनास्थलको भ्रमण गरेपछि सो कुरा बताउनुभएकाे हाे।
स्थानीय स्टेशनमास्टरमाथि ज्यान मारेको आरोप लगाइएको छ । ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् ।उद्धार टोलीले जीवितको खोजी जारी राखेको छ । करिब ३५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा सहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा अर्को मालवाहक रेलसँग ठोक्किएको थियो। दुवै सेवा एउटै ट्रयाकमा किन चलिरहेका थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन ।
सिग्नलिङको जिम्मेवारीमा रहेका स्टेशनमास्टरले भने आफ्नो गल्ती भएको अस्वीकार गर्दै सम्भावित प्राविधिक गडबडीको कारण दुर्घटना भएको बताएका छन्।
तीन दिने राष्ट्रिय शोकको घोषणा
घटनाप्रति दुःख व्यक्त गर्दै ग्रीस सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको सरकारका प्रवक्ता जियानिस ओइकोनोमोउले बताउनुभयाे।
बुधबारदेखि शुक्रबारसम्म सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने र सबै सार्वजनिक उत्सवहरू स्थगित हुने उहाँले जानकारी दिनुभयाे।
बीबीसी