काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गर्नुभएकाे छ। बिहीबार बिहान उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउनुभएकाे हाे।
सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताउनुभएकाे हाे। उहाँले आफूलाई सुझाव दिइरहन आग्रह गर्नुभएकाे छ।
‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।’ ओलीले भन्नुएकाे छ, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद ’
केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे एमालेको सचिवालय बैठक बस्दैछ। एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बस्न लागेको हो। बाढी पसेपछि बुधबार दिउँसोदेखि कार्यालय सरसफाइ र मर्मतको काम जारी रहेको छ।
onlinekhabar