दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा परी घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोले मार्वुको टोपाटार र खारेको सल्ले स्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ भने टोपाटारमको पक्की पुल बगाएको छ ।
बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा खारेतर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले टेलिफोनमा दिएको जानकारी अनुसार पहिरोबाट पहिरोले बस्तीका ५ घर पुरेको छ। स्थानीयका अनुसार पहिरोमा परी टोपाटार स्थित यज्ञ थामी, उहाँकी श्रीमती र अर्का एक जना घाइते भएका छन् । उहाँहरुको घाइते अवस्थामा उद्धार गरिएको हो ।
पहिरोमा परेर स्थानीय ५४-५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उहाँकी श्रीमती देव मगर, ५३-५४ वर्षका हरिलाल श्रेष्ठ र ३ वर्षको बालक प्रिन्स थामी बेपत्ता छन् । सुरक्षाकर्मी र गाउँले मिलेर उनीहरुको खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताउनुभयाे ।
पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भइरहेको छ। घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्ती भन्दा माथि छिमेकी वडा खारेको डिलबाट पहिरो झरेको र पहिरोले बस्तीका ५ घर पुरेको वडाअध्यक्ष शेर्पाले जानकारी दिनुभयाे । ‘हिजो साँझ, ४/५ बजेकै घटना रहेछ’, उहाँले भन्नुभयाे । लगातार ठुलो पानी परेको, निरन्तर हुस्सु कुहिरो लाग्नुका साथै टेलिफोन समेत सम्पर्कविच्छेद भएका कारण वरपरका गाउँलेले समेत घटना बिहान मात्र थाहा पाएको शेर्पाले सुनाउनुभयाे। बस्तीमा मगर, श्रेष्ठ, थामी र खत्री परिवारका ८ घर थिए ।