गोरखा । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँघरबाट काठमाडौंको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गोरखामा विधिपूर्वक गएराति सङ्कलन गरिएको फूलपाती बिहान सरकारी नम्बर प्लेटको गाडीमा राखेर काठमाडौं पठाइएको हो ।
पुरातत्व विभागले काठमाडौंबाट पठाएको ग २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाएको गोरखकाली मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गोरखकाली मन्दिरका पुजारी कुलबहादुर थापाको साथमा फूलपातीको पठाइएको हो । फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नु भएको थियो । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै यो परम्परा अवरुद्ध भएको थियो ।
जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोरखा सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने गाडीमार्फत् फूलपाती काठमाडौं पठाउने चलन फेरि शुरु भएको उहाँको भनाइ छ ।
गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ ।