परासी । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवलपरासीका एक सुनचाँदी व्यवसायी घाइते भएका छन् । सुस्ता गाउँपालिका–१ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएकाे ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि गोली प्रहार भएको हो ।
उहाँ पसल बन्द गरेर बर्दघाट नगरपालिका–४ देविनगरमा रहेको घरमा स्कुटीबाट फर्कंदै थिए । उनीमाथि बर्दघाट नगरपालिका–१६ को चोर गोला पुल नजिक गएराति ७.३० बजेको समयमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिनुभयाे ।
गोली लागेर ढलेपछि उनी चढेको लु.४८ प ७४३५ नम्बरको स्कुटीसमेत घटनास्थलमा नदेखिएको प्रहरीले जनाएको छ । सुनचाँदी राखेर ल्याएको आशंकामा गोली प्रहार गर्ने व्यक्तिले नै स्कुटी लगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
पाखुरामा गोली लागेका उहाँलाई तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । अहिले उहाँको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी बोहराले जानकारी दिनुभयाे । गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपरेको र उहाँको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।