गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ देखि ९ सम्मका जनतालाई तत्काल मेलम्ची खानेपानी उपलब्ध गराउन स्थानीयहरुले सरकारसँग माग गरेका छन् ।
मंगलवार खानेपानी मन्त्रालयमा भएको खानेपानी मन्त्रीसहितको बैठकमा गोकर्णेश्वर नगरपालिका प्रमुख,सांसद र वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयवासीले मन्त्रीसँग यस्तो माग गरेका हुन् । उनीहरुले मेलम्ची खानेपानी प्रभावित क्षेत्र हुँदा पनि मेलम्ची खानेपानी अहिलेसम्म नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको हुन् । उनीहरुले घरमाथि मेलम्चीको खानेपानी टयाङ्कीबाट पानी बग्ने तर पानी खान नपाउने अवस्था सिर्जना भएको भन्दै तत्काल पानी उपलब्ध गराउनुपर्ने जिकिर गरे । त्यस्तै मेलम्ची खानेपानी ट्याङ्कीको संरक्षणको लागि लगाइएको पर्खाल र हेड बक्स समेत तत्काल बनाउन माग गरेका छन् । बैठकमा बोल्दै अर्थसमिति सभापति तथा सो क्षेत्रका स्थानीयवासी समेत रहनुभएका सन्तोष चालिसेले मेलम्ची खानेपानी ल्याउनको लागि सुन्दरीजलको महांकालमा पानी प्रशोधन केन्द्र निर्माण गर्दा त्याग गरेको जनताले अहिलेसम्म मेलम्चीको खानेपानी नपाउनु राज्यको कमजोरी भएको बताउनु भयो । उहाँले मेलम्ची खानेपानी ल्याउनको लागि जग्गा दिनेदेखि सबै सहयोग गर्ने तर जनताले मेलम्चीको खानेपानी खान नपाउनु अन्याय भएको बताउनु भयो । उहाँले जनताले पानी खान नपाएकाले सरकारले तत्काल खानेपानी खाने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साविकको जोरपाटी गा.वि.समा मेलम्चीको पानी खुवाउने भनेर धेरै ठाउँमा सहमति भएपनि अहिलेसम्म कार्यान्वयन भएको बताउनु भयो । उहाँले मेलम्ची खानेपानीको हेडवक्स ४ अर्ब खर्च गरेर परिवर्तन गर्दा अझै चार वर्ष लाग्ने अवस्था आउने भएकाले चाँडै मेलम्चीको पानी खाने सपना पूरा नहुने देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मेलम्ची खानेपानी ल्याउनको लागि सुन्दरीजलको महांकालमा पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । त्यहाँ जग्गा दिनेदेखि सबै सहयोग त्यहाँका जनताले गरेका छन् । तर त्यहाँका जनताले मेलम्चीको खानेपानी खान नपाउनु अन्याय भएको छ । जहाँ जनताले त्याग तपस्या गरेका छौं । उनीहरुले पानी खान नपाएकाले सरकारले तत्काल खानेपानी खाने व्यवस्था गर्नुपर्छ । साविकको जोरपाटी गा.वि.स.मा मेलम्चीको पानी खुवाउने भनेर धेरै तिर सहमति भएको थियो । ३ महिनामा एक पटक पानी आउन वातावरण अन्त्य गर्नुपर्छ । मेलम्ची खानेपानीको हेडवक्स ४ अर्ब खर्च गरेर परिवर्तन गर्ने कुरा आएको छ । त्यसो गर्दा अझै चार वर्ष लाग्ने अवस्था हुन्छ ।’
बैठकमा गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसालले मेलम्चीको खानेपानी सबैभन्दा पहिला गोकर्णेश्वर नगरपालिका भित्रका ५ देखि ९ वडामा दिने सहमति भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताउनु भयो । उहाँले अहिले आरुबारीमा दुई वटा खानेपानी ट्याङ्की बने पनि त्यहाँ वरिपरीका जनताले खानेपानी नपाएको बताउनु भयो । उहाँले मेलम्चीको ठूलो खानेपानी ट्याङ्की त्यहाँका जनताले टुलुटुलु हेर्नु बाहेक अरु केही उपाय नभएको बताउनु भयो । उहाँले सुन्दरीजलको पानी नजाने भएकाले मेलम्चीको पानी दिने निर्णय भएर दोस्रो चरणजमा काम भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मेलम्चीको खानेपानी सबैभन्दा पहिला गोकर्णेश्वर नगरपालिका भित्रका ५ देखि ९ वडामा दिने सहमति भएको थियो । अहिले आरुबारीमा दुई वटा खानेपानी ट्याङ्की बनेको छ । तर त्यहाँका वरिपरीका जनताले खानेपानी पाएका छैनन् । मेलम्चीको ठूलो खानेपानी ट्याङ्की त्यहाँका जनताले टुलुटुलु हेर्नु बाहेक अरु केही रहेन । २ अर्ब ५७ करोडको योजना छ । जहाँ सुन्दरीजलको पानी जाँदैन त्यहाँ मेलम्चीको पानी दिने निर्णय भएर दोस्रो फेजमा काम भइरहेको छ । त्यहाँ बेला बेलामा पानी रोकिने गरेको छ । संघीय सरकारबाट बजेट नपाएकाले रोक्नुपरेको छ ।’
बैठकका स्थानीयवासीले गोकर्णेश्वर नगरपालिका ५ देखि ९ वडाका जनताले हप्तामा दुई पटक पानी दिन आग्रह गर्दा समेत नपाएको मन्त्रीसँग गुनासो गरेका छन् ।
न्युज एजेन्सी नेपाल