काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा देशभर विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। सातै प्रदेशमा आयोजना भएका यी कार्यक्रमहरूमा ६ हजारभन्दा बढी युवा-युवतीको सहभागिता रहेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूको सहकार्यमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित बैंकले आफ्ना ३५५ शाखामार्फत वित्तीय साक्षरता र डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी तथा अनुशासन जस्ता विषयमा जानकारी दिइएको छ।
ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ जित्दै नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा मान्यता पाएको छ। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट पनि विभिन्न सम्मान प्राप्त गरेको छ।
सातै प्रदेश र ७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकसँग ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ विदेशस्थित प्रतिनिधि कार्यालय छन्। बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।