पोखरा । खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ। दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ। राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन्। तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो। नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लड्नुभएका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो।
लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उहाँले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई प्वाक्क सोध्नुभयाे,‘तपाईं अहिले के पार्टीमा हुनुहुन्छ घनश्यामजी?’एक चरण दर्शक स्रोता हाँसिसकेपछि भुसालको जवाफ सुनियो, म ‘अहिले नेकपामा छु।’अनि विजय कुमारले भन्नुभयाे, ‘ए!’विजय कुमारले अर्का वक्ता मिनेन्द्र रिजाललाई पनि किन छोड्नुभयाे!
डा. रिजाललाई कबुल गर्न बाध्य पारे, म पार्टीको निर्वाचनमा महामन्त्रीमा मज्जैले पराजित भएँ। रक्षामन्त्रीबाट राजीनामा गरेँ।
तर छलफल वक्ताद्वयलाई होच्याउन नभई हारजीतको बुझाइलाई नयाँ कोणबाट हेर्ने प्रयासका लागि थियो। दुवै नेताले पालैपालो आफ्नो हारलाई संघर्षका रुपमा व्याख्या गर्ने अवसर पनि पाउनुभयाे।
रिजालले भन्नुभयाे, ‘हरेक मान्छे विजेता, हरेक मान्छे हार बेहोर्छ। मैले पटक पटक संसदमा हुँदा ओलीजीको प्रतिपक्षमा हुँदा भनेको थिएँ हारमा शानसाथ हार्न सक्नु भएन भने जीतमा विनयशीलता भएन भने मानिस मानिस हुन्न। आज फेरि भन्छु– ओलीजी प्रचण्डजी विनयशीलता नगुमाउनुस्।’
उहाँले राजनीति र चुनावमा जित्नेभन्दा हार्ने धेरै हुने टिप्पणी गर्नुभयाे। एउटा निर्वाचन क्षेत्रबाट फगत एक जनाले जित्ने भन्दै उहाँले भन्नुभयाे, ‘चुनाव लड्न नपाएका पहिल्यै हार्छन्। चुनाव लडिसकेका पनि एक जनाबाहेक सबै हार्छन्।’ नेता भुसालले हारजीत एकदम वृहद् विषय भन्दै आफ्नो हार्ने स्वतन्त्रताको रक्षा गर्न सफल भएको दाबी गर्नुभयाे।
‘म हार्ने स्वतन्त्रताका लागि खडा भएको थिएँ । यो आज भन्दै छुइनँ। एक वर्ष अगाडि सौराहामा हाम्रो महाधिवेशन भएको थियो। त्यहाँ हाम्रो अध्यक्षले लिस्ट पढेर सुनाउनुभयो र अब यहाँ कसैको कुनै विमति हुन सक्दैन भन्नुभयो,’ भुसालले भन्नुभयाे, ‘मैले मञ्चमा गएर उहाँलाई विनम्रतापूर्वक भनेको थिएँ,यहाँबाट हामीले जितेर जान दिनुहुन्न तपाईंले। तर हामीलाई हाम्रो हार्ने स्वतन्त्रता चाहिँ दिनुस्।’
उहाँले हार्ने स्वतन्त्रताको रक्षा गर्ने क्रममा आफूले जितेको भन्दै आफूलाई भाग्यमानीसमेत भन्नुभयाे। छलफलमा राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जित्नैपर्ने मूल्य स्थापित भएकोमा दुवै नेताले चिन्तासमेत व्यक्त गर्नुभयाे। रिजालले यसबारे भन्नुभयाे, ‘हामीले एउटा संस्कृति निर्माण गर्यौ त्यहाँ पुग्नै पर्छ । जसले जसलाई जतिबेला झुक्याएर पनि त्यहाँ पुग्नै पर्छ ।
हाम्रो भाष्य के थियो? नमिली जितिन्छ? एक्लै लडेर जितिन्छ? जित अन्तिम सत्य बन्यो हाम्रो । आज कांग्रेससँग जीत पनि छ, हार पनि छ।’ यही विषयमा नेता भुसालले पैसा, लोकप्रियता र विचारका लागि राजनीति गर्ने तीन थरी अभ्यास रहेको बताउनुभयाे। उहाँले राजनीतिमा पैसा कमाउन र चर्चा कमाएर शान देखाउनेहरु हाबी भएको टिप्पणी गर्नुभयाे। यसबाहेक विचार र मूल्यमा
रहेर, त्यो मूल्यलाई समाजमा सम्प्रेषित गर्न राजनीति गर्नेहरु पनि सानो संख्यामा रहेको उहाँले बताउनुभयाे।
हारजीतमा केन्द्रित छलफलमा पछिल्लो राजनीतिक प्रकरणपछि काठमाडौंका नेता भुसालले मेयर बालेन्द्र शाहको ट्विटबारे पनि आफ्नो धारणा पोख्नुभयाे। मेयर शाहले नयाँ सत्ता समीकरणबारे ट्विटमा लेख्नुभएकाे थियाे—राजा फर्काउछु भन्ने,राजा चाहिन्न भन्ने,र ,राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।
‘बालेनजीले जुन उदाहरण राजालाई नै केन्द्रित भएर त्यो उहाँले किन भन्नुभएको भन्ने कुरा मैले अहिलेसम्म बुझेको छैन। आगामी दिनमा नेपाली राजनीतिका अनेक कौतुहलता क्रमशः अगाडि आउँछन् । केही छ भने,’ उहाँले भन्नुभयाे, ‘यदि छैन त्यसै एउटा कविता लेख्नुभयो उहाँले छोटा कविता लेख्नुभएको हो। भने सकिएला। यसभित्र केही छ भने यो राजालाई नै केन्द्र गरेर किन यो प्रश्न आयो भन्ने कुरा, मेरो कौतुहलता त्यत्ति हो।’