काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले धेरै ब्याज लिने बैंकविरुद्ध उजुरी दिन आह्वन गर्नुभएकाे छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले धेरै ब्याज असुल्ने जुनसुकै बैंकविरुद्ध उजुरी दिन आह्वान गर्नुभएकाे हाे।
गर्भनर अधिकारीले नियमविपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर आउने उद्योगी व्यवसायीहरूको उजुरीमाथि अनुगमन गरेर ब्याज फिर्ता गराउने प्रतिवद्धतासमेत जनाउनुभयाे। उहाँले अघिल्लो वर्ष प्रिमियम बापतको ४ अर्ब ७६ करोंड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराइएको उदाहरण दिनुभयाे।
''बैंकले १६-१८ प्रतिशत बढी ब्याज लिएर नहिंड्नुस्। बैंकले लिँदै नलिएको ब्याजको विषयमा बोल्दा अराजकता फैलाउनेबाहेक केही हुँदैन। यदि कसैलाई साँच्चै बढी ब्याज लिएको छ भने स्टेटमेन्टसहित उजुरी दिनुस्। बैंकबाट ब्याज फिर्ता हामी गराउँछौं,'' उहाँले भन्नुभयाे।