नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रश्ताव अघि बढाइएको बताउनु भयो । उहाँले शिक्षा ऐन दशैँ तिहार लगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताउनु भयो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताउनु भयो । उहाँले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा ऐनका प्रसंग अघि उठ्यो । यहाँ आउनुपूर्वको बैठकमा त्यही विषयमा नै छलफल गरिरहेको हुनाले गर्दा त्यहीँबाट शुरु गर्न मन लाग्यो । आज साँझ नयाँ बनेको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन । संसदले सँगै काम गर्नुपर्छ । संसदको छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो । त्यही भएर संसदको समितिमा यो विषयमा आफ्ना धारणा राख्दा त्यहाँको सभापतिजीलाई विशेष अनुरोध गरेको कुरा मैले टिममा शेयर गरेको थिएँ । यो असरल्ल छरेर हुँदैन, कहिले कहीँ अलिकति सुझबुझ पु¥याउनुपर्छ । त्यसैले अहिले दलगत हिसावमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जो छौँ, सबै दलको शिक्षामा काम गर्नुभएको सानो एउटा समूह बनाऔँ । त्यो समूहलाई दुई महिनाको समय दिएर दशैँ, तिहार केही नभनि काम गर्न लगाऔँ । त्यसबाट धेरै टुंगिने विषय टुंगिन्छ । दशैँतिहारको लगत्तै पछि संसद शुरु भएपछि संसदीय समितिबाट प्रक्रियामा लैजाऔँ भन्ने प्रश्ताव राखेको छु । सम्माननीय प्रधानमन्त्रीज्युसहित सबैले यही बाटो सही हुन्छ भन्नुभएको छ । केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउनेछौँ ।’ महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल