काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निस्कर्षमा आफू पुगेको बताउनुभएको छ ।
उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गर्नुभयो ।
शनिवार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताउनु भयो ।
संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकतावद्ध भएर सरकारलाई खवरदारी गरिरहनुपर्ने पनि उपराष्ट्रपति पुनको भनाई थियो । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘क्षेत्रीहरु आदिवासी हुन कि होइनन भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरु हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरु पनि आदिवासी हुन् भन्ने कुरा चाहीँ सही हो ।
यसका लागि आन्दोलन पनि उठेको थियो । र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो । त्यसमा हाम्रो अध्ययन पुग्नुपर्छ । गहिरिएर जानुपर्छ । आदिवासीहरु एकतावद्ध हुनुपर्छ जस्तो लाग्छ । त्यसो गर्दा आदिवासीहरुको बीचमा जो विभाजन आउँछ ।
अथवा बुझाईमा जो फरक पर्न जान्छ । त्यसले हाम्रो एकतालाई टुटाउने गर्छ । त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरु गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह बिना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समुदायलाई एकतावद्ध गर्न सक्नुपर्दछ । मेरो अध्ययनले क्षेत्रीहरु आदिवासी नै हुन् भनेर महशुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन । हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन् । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोशिसहरु गर्ने नै छौं ।’
उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गर्नु भयो । उहाँले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरुको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।