खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ ।
घरघरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो ।
पाठेघर खसेका महिलाको पहिचानका लागि घर घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रबन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए ।
पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ ।
पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्या बिताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर घरमा स्वास्थ्यकर्मी पठाएको थियो ।