नेपालको संविधानको भाग २७ को घारा २६२ अन्तर्गत गठन भएको मधेशी आयोगले आज विशेष कार्यक्रम गरेर आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । २०७५ साल चैत्र ७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी बाट मधेशी आयोगका प्रथम अध्यक्षको रुपमा डा.विजयकुमार दत्त नियुक्त भएको दिन आयोगले आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोगले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा ५औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको अध्यक्षता गर्दै आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले राज्य र सिंहदरबारको कु-दृष्टिले र गलत नियतले गर्दा आयोग अझ प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन । अध्यक्ष डा.दत्तले मधेशी समुदाय सशक्त नभए सम्म सिंगो मुलुक नै सशक्त नहुने समेत जिकिर गरेका छन् । अध्यक्ष डा.दत्तले आफ्नो मन्तव्यमा आयोगले नेपालकै इतिहासमा पहिलो पल्ट “मधेश” शब्दको परिभाषा। “मधेशी को हुन्”, मधेश प्रोफाइल, राज्यमा मधेशीको पहुँच अध्ययन जस्ता ऐतिहासिक कार्यहरु आयोगले गरेको बताएका छन् ।
प्रमुख अतिथिको आसन बाट बोल्दै उपराष्ट्रपति राम सहाय यादवले मधेशी आयोग सहित अन्य संवैधानिक आयोग बीच बाझिएका क्षेत्राधिकारहरुलाई कानुनी रुपमा सहजीकरण गरिनुपरिने बताएका छन् । उपराष्ट्रपति यादवले मधेशी आयोगले सिंगो मधेशी समुदायको अभिभावकको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत सुझाव दिएका छन् ।
सो कार्यक्रममा संवैधानिक अंगका पदाधिकारी, नेपाल सरकारका सचिवहरु, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधहरु। प्राध्यापक सहितको उल्लेखनीय उपस्थिति रहेको थियो ।