थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा आत्मनिर्वासनबाट स्वदेश फर्केको ६ महिनापछि आईतवार प्यारोलमा रिहा भएका छन् । थाक्सिन आइतवार स्थानीय समय अनुसार बिहान ६ बजेर ६ मिनेट जाँदा रिहा भएका हुन् । थाइल्याण्डकी प्रधानमन्त्री श्रेथा थाभिसिनले यसअघि थाक्सिनको प्यारोलमा रिहाइ कानूनबमोजिम भएको बताउनु भयो । देशको न्याय मन्त्रालयका अनुसार ७४ वर्षीय पूर्वप्रधानमन्त्री यस महिना प्यारोलका लागि स्वीकृत भएका ९३० कैदीमध्ये पर्दछन् । उनी ७० वर्ष नाघेका र गम्भीर रोगबाट पीडित भएकाले उनलाई प्यारोलका लागि योग्य ठहर गरिएको छ । थाक्सिनले आफ्नो १५ वर्ष भन्दा बढीको निर्वासन समाप्त गरी गत वर्ष अगस्टमा थाइल्याण्ड फर्केसँगै हिरासतमा राखिएको थियो । उनलाई ८ वर्षको जेल सजाय तोकिएको थियो । गत सेप्टेम्बरमा, थाई राजा महा वजिरालोङ्कोर्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको आठ वर्षको जेल सजायलाई एक वर्षमा घटाएको थियो । थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एशियाली देशको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए र सन् २००८ देखि विदेशमा स्वयं निर्वासनमा थिए ।
सिन्ह्वा